one
विज्ञापन

नेपाल सुनचाँदी कला व्यवसायी संघले आयोजना गरेको सम्पत्ति शुद्धिकरण निवारण ऐन, विलासिता शुल्क तथा लेखा परीक्षणसम्बन्धी प्रशिक्षण कार्यक्रम

Article Image
Article Image
Article Image

सरकारले लागू गरेको ‘विलासिता कर’ र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) को विरोधमा रहेका सुनचाँदी व्यवसायीहरूले धरानमा आयोजित एक कार्यक्रममा समेत खुलेर असन्तुष्टि पोखेका छन् । नेपाल सुनचाँदी कला व्यवसायी संघले आयोजना गरेको सम्पत्ति शुद्धिकरण निवारण ऐन, विलासिता शुल्क तथा लेखा परीक्षणसम्बन्धी प्रशिक्षण कार्यक्रममै व्यवसायीहरूले सरकारको कर नीतिको कडा आलोचना गरेका हुन् ।
गत जेठ ३० गते सुनसरी सुनचाँदी व्यवसायी संघ, नेपाल सुनचाँदी कला व्यवसायी संघ, सुनसरी र सुनसरी रत्न तथा आभूषण संघको संयुक्त आयोजनामा अनावश्यक कर खारेज गर, सुनचाँदी व्यवसायी एक हौं र उपभोक्ता मार्न पाइँदैन जस्ता नारासहित व्यवसायीहरूले इलाका प्रशासन कार्यालय धरानमा ज्ञापनपत्र बुझाएका थिए । त्यसयता विभिन्न कार्यक्रममार्फत उनीहरू निरन्तर विरोध जनाउँदै आएका छन् ।
सोमबार सम्पन्न प्रशिक्षण कार्यक्रममा बोल्दै संघका सुनसरी अध्यक्ष प्रदीप गहतराजले सुनको मूल्य आकासिँदा व्यवसायी मालामाल भएको भ्रम सरकारमा रहेको टिप्पणी गर्नुभयो । बाहिरबाट हेर्दा व्यवसाय फस्टाएको जस्तो देखिए पनि वास्तविकतामा सुनचाँदी व्यवसाय धरासायी अवस्थामा पुगेको उहाँको भनाई थियो । विलासिता कर र भ्याटका कारण धेरै व्यवसायी व्यवसाय बन्द गर्ने अवस्थामा पुगेको तथा व्यवसायीमाथि चन्दा आतंक समेत बढ्दै गएको उहाँको गुनासो थियो ।
कार्यक्रमका प्रमुख अतिथि संघका केन्द्रीय अध्यक्ष तथा राष्ट्रिय सभा सदस्य घनश्याम रिजालले व्यवसायीका समस्या गम्भीर रहेको उल्लेख गर्दै कर नीतिमा पुनरावलोकन आवश्यक भएको धारणा राख्नुभयो ।
यस्तै, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल श्रेष्ठले अप्ठेरो परिस्थितिमा सबै व्यवसायी एकजुट हुनुपर्नेमा जोड दिनुभयो । व्यवसायिक हितका लागि सुनसरी उद्योग वाणिज्य संघ सधैं व्यवसायीको साथमा रहेको उहाँको भनाइ थियो ।
प्रशिक्षण कार्यक्रममा आन्तरिक राजस्व कार्यालय धरानका कर अधिकृत रविनलाल दास र सिर्जन भण्डारीले सम्पत्ति शुद्धिकरण ऐन, कर दायित्व, विलासिता शुल्क र लेखा परीक्षणसम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा संघका केन्द्रीय महासचिव बालकुमार लामिछाने, केन्द्रीय सचिव प्रेमबहादुर विश्वकर्मी, केन्द्रीय कार्यकारिणी निर्देशक हरि रसाइली, सुनसरी शाखाका निवर्तमान अध्यक्ष दुर्गा बहादुर विश्वकर्मासहित धनकुटा, झापा र तेह्रथुमका पदाधिकारी तथा सुनचाँदी व्यवसायीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
व्यवसायीहरूले यो प्रशिक्षण व्यावसायिक हित र कानुनी सचेतनाका लागि महत्वपूर्ण भएको बताउँदै, सरकारले कर नीतिमा सुधार नगरे संघर्षका कार्यक्रम अझ सशक्त बनाउँदै लैजाने संकेत दिएका छन् ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
three
विज्ञापन
3
विज्ञापन