one
विज्ञापन

नेकपा एमाले सुनसरी क्षेत्र नं. १ का उम्मेदवारले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक

Article Image
Article Image
Article Image
Article Image
Article Image

धरान । नेकपा एमाले सुनसरी क्षेत्र नं. १ का उम्मेदवारले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । संघ, प्रदेश र स्थानीय सरकारबीचको त्रिपक्षीय सहकार्यमा धरान तथा आसपासका क्षेत्रलाई पर्यटकीय, शैक्षिक र खेलकुद हबका रूपमा विकास गर्ने स्पष्ट संकल्पसहित एमाले चुनावी मैदानमा उत्रिएको छ ।

एमालेले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै वराहक्षेत्र–धरान र रामधुनी–धरान सडक पूर्णता, धरान–विष्णुपादुका–आहाले–चाँदिवजार सडक विस्तार तथा ताल, सिमसार र धार्मिक क्षेत्रसम्म सहज पहुँचमार्ग निर्माण गर्ने योजना अघि सारेको छ । तीनै तहका सरकारको सहकार्यमा विकास अभियान सञ्चालन गरिने उल्लेख गरिएको छ ।
पर्यटन तथा सांस्कृतिक क्षेत्रतर्फ पिण्डेश्वर महाकुम्भ व्यवस्थापनका लागि कुम्भ परिषद् गठन, विजयपुर दरबार संरक्षण, बहुजातीय संग्रहालय सञ्चालन तथा वराहक्षेत्र प्रवद्र्धन र चतरा सूर्यकुण्ड संरक्षणलाई प्राथमिकता दिइएको छ ।
खेलकुद पूर्वाधार अन्तर्गत धरान रंगशालाको प्यारापिट निर्माण सम्पन्न गरी रात्रीकालीन खेल सञ्चालन, साहसिक खेल प्रवद्र्धन तथा युवा प्रतिभा पहिचान र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना सार्वजनिक गरिएको छ । धरानलाई ‘खेलकुद सहर’ का रूपमा विकास गर्ने लक्ष्य एमालेले लिएको छ ।
शिक्षा र स्वास्थ्यतर्फ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लाई स्वायत्त विश्वविद्यालयका रूपमा विकास गर्ने, आईसीयू र मर्चरी सेवा विस्तार तथा धरान नगर अस्पताल सञ्चालन गर्ने योजना अघि सारिएको छ । सामुदायिक विद्यालयको पूर्वाधार सुधार र प्रविधिमैत्री शिक्षणमा जोड दिइएको छ ।
सामाजिक तथा आर्थिक क्षेत्रअन्तर्गत भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाणपत्र वितरण, सहकारी पीडित समस्या समाधान, श्रमिक सामाजिक सुरक्षा, खानेपानी सुधार र फोहोरमैला प्रशोधन केन्द्र स्थापना गर्ने योजना समेटिएको छ । औद्योगिक क्षेत्र सञ्चालन र कृषि आधुनिकीकरणमार्फत रोजगारी सिर्जना गर्ने लक्ष्यसमेत राखिएको छ ।
वातावरण तथा सुरक्षातर्फ नदीजन्य पदार्थको अवैध उत्खनन नियन्त्रण, हात्ती तथा बाँदर आतंक व्यवस्थापन, पूर्ण सरसफाइ अभियान तथा नदी नियन्त्रण र तटबन्ध निर्माणलाई प्राथमिकता दिइने जनाइएको छ ।
कार्यक्रममा बोल्दै एमालेकी केन्द्रीय सदस्य मञ्जु भण्डारी सुवेदी ले प्रतिबद्धता पत्र विकासको मार्गचित्र भएको बताउनुभयो । विगतमा स्थानीय सरकार तथा प्रदेश र प्रतिनिधि सांसदसँग सहकार्य गरेर यस क्षेत्रको विकास गरेको स्मरण गराउँदै यो प्रतिबद्धता केवल कागजमा सीमित नरही सुनसरी–१ को समृद्धिको वास्तविक मार्गचित्र रहेको दाबी गर्नुभयो ।

त्यस्तै सुनसरी क्षेत्र नं. १ का उम्मेदवार टिका लिम्बु ले धरानको दीर्घकालीन समस्यालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । धरानको खानेपानी र सुकुम्बासी समस्या समाधान आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै धरानलाई शिक्षा, स्वास्थ्य र खेलकुदको नमुना सहर बनाउने संकल्प व्यक्त गर्नुभयो । घोषणापत्रमा सार्वजनिक भएका विषयहरू पूरा गर्ने प्रतिबद्धता समेत उहाँले जनाउनुभयो ।

एमालेले विशेषगरी धरानको खानेपानी संकट, सुकुम्बासी व्यवस्थापन र बीपी प्रतिष्ठानको स्तरोन्नतिलाई मुख्य चुनावी एजेन्डा बनाएको जनाएको छ । स्पष्ट योजनासहित सार्वजनिक घोषणापत्र कार्यान्वयन गर्ने प्रतिबद्धता नेताहरूले व्यक्त गरेका छन् ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
3
विज्ञापन
0
विज्ञापन