one
विज्ञापन

केन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न

Article Image
Article Image
Article Image
Article Image
Article Image

फागुन २४, केके मानन्धर
केन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको धरानदेखि पश्चिमको नेपालगन्जसम्म सघन बसोबास गर्दै आएका मानन्धर समुदायलाई समेटेर कार्यक्रम गर्दैै आएको छ । हजारौंको संख्यामा सहभागी हुने मानन्धरहरुलाई भोज खुवाउने जिम्मेवारी यो वर्ष काठमाडौंस्थित तँलाछि टोलले लिएको हो । आगामी वर्षको लागि चस्वांद्वँ मानन्धर सनाःगु खलःलाई भ्वय् कार्यक्रम व्यवस्थापनको जिम्मेवारी दिइएको छ ।
‘स्वयम्भू भ्वय् कार्यक्रम आयोजना गर्नु सजिलो छैन । हामीले भुइख्यःमा भोज व्यवस्थापनको लागि मात्र थुप्रै स्वयंसेवीहरु परिचालन गरेका छौं ।’ संघका कोषाध्यक्ष राजेन्द्र मानन्धरले बताउनुभयो । ‘हामीले आजको विशेष दिनमा भोज मात्र खुवाउने हैन बरु समुदायलाई आर्थिक पाटोसंग जोड्नको लागि विभिन्न व्यावसायिक र वित्तीय संस्थाहरुको प्रदर्शनी स्थल पनि राख्न दिन्छौं । सांस्कृतिक र औपचारिक कार्यक्रम पनि हुन्छ । त्यसैले महिनौं अघिदेखि परामर्श परिषद्को बैठक बसेर टोलबासीहरुको सहयोगमा कार्यक्रमको लागि तयारी थाल्नुपर्छ ।’ मानन्धरले बताउनुभयो ।
एकदिने भ्वय् कार्यक्रममा रक्तदान, बैंक तथा वित्तीय संस्थाहरुको प्रदर्शनी स्थल, महिला समूहले उत्पादन गरेका हस्तकला सामग्री देख्न सकिन्थ्यो । ‘हामीले नेपाल रेडक्रस सोसाइटी गणबहाल उपशाखासंग समन्वय गरी रक्तदान कार्यक्रम सम्पन्न ग¥यौं । जम्मा ३० जनाले आकस्मिक रक्तदान गर्नुभयो । ती मध्ये बनेपाका बाजा गुरु विश्वराम मानन्धरले ११ औं पटक रक्तदान गर्नुभएको थियो ।’ रक्तदान कार्यक्रमका संयोजक तथा संघका सहायक सचिव कृष्ण बहादुर मानन्धरले बताउनुभयो ।
सुरुको समयमा दैसाः टोलले स्वयम्भू भ्वय् कार्यक्रमलाई व्यवस्थापन गर्दै आएको भएपनि चालिसको दसकदेखि अरु टोलले पनि सहकार्य गरदै आएको छ । स्वयम्भू परिसरमा चैत्य स्थापना गरेको खुसीयालीमा मनाइँदै आएको परम्परागत भ्वय् कार्यक्रमलाई पछिल्लो समय समयानुकूल परिवर्तन गरी औपचारिक, सांस्कृतिक र आर्थिक क्षेत्र प्रवद्र्धनसंग जोडिएको छ ।
कार्यक्रममा संघको ७३ औं स्थापना दिवसको सन्दर्भमा विभिन्न विधामा पुरस्कार तथा सम्मान गरिएको थियो । सोही क्रममा नेपाल आँखा अस्पताललाई यो वर्ष नगद ५० हजार सहित पुरस्कृत गरिएको थियो । हजारौं संख्यामा आँखा नदेख्ने नागरिकहरुलाई सेवा दिएर आँखाको ज्योती पुस्र्थापित गराए बापत प्रतिष्ठानले आँखा अस्पताललाई पुरस्कृत गरेको बताइएको छ । प्रा. डा. जगदीश मानन्धर दाता रहेको सो प्रतिष्ठानले यसअघि डा. महावीर पुन र क्षेत्रपाटी अस्पताललाई पनि पुरस्कृत गरेको थियो । प्रतिष्ठानले मन्जुश्री संगीत महाविद्यालयको लागि पनि पुरस्कारको कोष बनाएको छ । विक्रम संवत् २०२६ मा स्थापित बेखा नारायण देव कुमारी प्रतिष्ठानले थुप्रै सामाजिक क्षेत्रमा काम गरेको छ । काठमाडौंको भिमसेन टोलस्थित देय् भ्वय् छेँसँगै धर्मशाला निर्माण, स्वयम्भूस्थित महामन्जुश्री पार्क निर्माण, विपन्न समुदायको लागि सहज मृत्यु संस्कार सम्पन्न गर्नको लागि गुठी संस्थानसँगको समन्वयमा मृत्यु संस्कार कोष स्थापनादेखि थुप्रै संघसंस्थासँग समन्वय गरेर आर्थिक र स्वास्थ्य सहयोग उपलब्ध गराएको छ ।
त्यस्तै, चस्वांद्वँ टोलका त्रिरत्न मानन्धरलाई नगद ५० हजार सहित मोहनलाल खिं मानन्धर पुरस्कार दिइएको थियो । सोही विधातर्फ मोहनलाल खिं मानन्धर युवा पुरस्कार भक्तपुर साःक्वालान टोलका विष्णु बहादुर मानन्धरलाई उपलब्ध गराइएको थियो । काभ्रेस्थित काठमाडौं विश्वविद्यालय (केयू) मा बाजा सम्बन्धिका प्राध्यापक समेत रहनुभएका मानन्धरले मौलिक बाजा संरक्षण, प्रवद्र्धन तथा सन्ततीमा पुस्तान्तरण गरेको योगदानलाई मूल्यांकन गरी नगद २५ हजार सहित दोसल्ला ओडाएर सम्मान गरेको थियो । त्यस्तै, समुदायभित्र विभिन्न विधामा पुस्तक प्रकाशन गर्नेहरुबाट छनोट गरिने आख्यानकार मथुरा सायमि पुरस्कार यो वर्ष कामना मानन्धरलाई दिइएको थियो । चिकित्सा क्षेत्रमा एमडी उत्तीर्ण गरेर विभिन्न अस्पतालमा सेवा दिइरहनुभएका शंखरापुर नगरपालिकास्थित सक्व मानन्धर गुठीका डा. सनिश मानन्धरलाई श्याम लक्ष्मी पुरस्कार दिइएको थियो । स्नातकोत्तर तह नेपालभाषा विधामा उत्कृष्ट हुनुभएकी सकुन्तला महर्जनलाई सत्यतारा सम्मान दिइएको थियो । नेपालभाषा केन्द्रीय विभागले सिफारिस गरे बमोजिम महर्जनलाई मायाको चिनोसहित सम्मानपत्र उपलब्ध गराइएको थियो । नेपालभाषा विषय लिएर विद्यालय तहमा उत्कृष्ट हुने बालक अजः मानन्धरलाई नगद १० हजार सहित सलिंचा मचा नेवाः पुरस्कार उपलब्ध गराएको थियो ।
त्यस्तै, संघको ७३ औं स्थापना दिवसको सन्दर्भमा सम्पन्न भएको फुटसल प्रतियोगितामा पहिलो हुने मध्यपुर थिमिस्थित सिवा सायमि खलः तथा दोस्रो हुने थँहिति मानन्धर गुठीलाई नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र उपलब्ध गराएको थियो । फुटसलमा बेष्ट किपर हुन सफल हुनुभएका लक्ष्मण मानन्धर र हाई स्कोरर गरेका रितिक मानन्धर तथा बेष्ट प्लेयरको उपाधि जित्नुभएका बनेपाको जापाली गुठीका अजित मानन्धरलाई विशेष सम्मान दिइएको थियो । ओलम्पियन बैकुण्ठ मानन्धरसँग सहकार्य गरेर सम्पन्न गरेको ५ किलोमिटर खुला दौड प्रतियोगिमा पहिलो, दोस्रो तथा तेस्रो हुने क्रमशः गणेश सिंह राउत, रुपेश कार्की तथा नागेश्वर सेरलाई नगद सहित पुरस्कृत गरिएको थियो । सोही विधामा समुदायतर्फ उत्कृष्ट भएका धनु मानन्धर, दिकेश तथा प्रनिल मानन्धरलाई नगद सहित पुरस्कृत गरिएको थियो । टेबुल टेनिस तर्फ मारिया, नसला, करूणा, उज्ज्वल, नरेन्द्र, सुनिल तथा बुद्धिचाल तर्फ मनिष, रोहन तथा निरन्जन मानन्धरलाई पनि पुरस्कृत गरिएको थियो । बालबालिकाबीचको दौड प्रतियोगिता तर्फ निभाः, सान्भी तथा सम्बृद्ध मानन्धरलाई पुरस्कृत गरिएको थियो । समुदायभित्र विवाह गरेका नवदम्पती र भिमरथारोहन गरेका जेष्ठ नागरिकहरूलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाकी कार्यबाहक नगर प्रमुख सुनीता डंगोल, समाजसेवी, शिक्षासेवी, विभिन्न संघसंस्थाका पदाधिकारीहरुको सहभागिता थियो । २०१० माघ १० गते गठन भएको देशभरकै मानन्धरहरुको साझा संस्था केन्द्रीय मानन्धर संघले समुदायको आर्थिक उत्थान, खेलकुद, स्वास्थ्य, सांस्कृतिक विकास, शैक्षिक उत्प्रेरणाको क्षेत्रमा काम गर्दै आएको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
three
विज्ञापन
0
विज्ञापन